पायल्सको बारेमा हामीकहाँ खुलेर चर्चा वा कुराकानी गरिंदैन । धेरैले यो समस्या भित्रभित्रै लुकाइरहेको हुन्छन् । मकहाँ उपचार गराउन आउनेहरु पनि सुरुमा खुलेर आफ्नो पीडा बताउँदैनन् । पायल्सको समस्या लुकाउने भएकाले नै कहिलेकाहीं यो जटिल बन्छ । शल्यक्रिया नै गर्नुपर्ने अवस्था आइलाग्छ । यदि सुरुवाती चरणमै पायल्सबारे थाहा भयो भने उपचार सहज हुन्छ ।
पायल्स भएमा दिसामा रगत देखिन थाल्छ । मलद्वार आसपास दुख्ने, चिलाउने हुन सक्छ । किनभने मलद्वारमा भएका स–साना नलीहरु घर्षण भएर नै पायल्स हुने हो । पायल्स जतिजति बढ्दै जान्छ, त्यो नसा फुल्दै जान्छ । यसरी फुलेको रगतका नलीहरु बिस्तारै मलद्वारबाट बाहिर निस्कन थाल्छन् ।
पायल्सको कारण
पायल्स हुनुमा एउटा मात्र कारण छैन । यसको मूल जड खानपान हो । खासगरी मसालेदार खाना, जंकफुड, मैदाजन्य, तारेको भुटेको खानेकुराले यो समस्या ल्याउन सक्छ । किनभने यस्तो खानेकुरा सहजै पच्दैन, जसकारण पखाला वा कब्जियत हुन सक्छ ।
दिसा गर्दा बल गर्ने बानी, लामो समय शौचालयमा बिताउने बानीले पनि पायल्सको समस्या ल्याउन सक्छ । यस्तै गर्भावस्था, बुढ्यौली र वंशाणुगत कारणले पायल्स हुन सक्छ ।
पायल्सको लक्षण
सामान्यतया दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने पायल्सका लक्षणहरु हुन् । पायल्स पनि दुई प्रकार हुन्छन्, भित्री र बाहिरी । मलद्वारको बाहिरको नसा फुल्नुलाई बाहिरी पायल्स भनिन्छ भने भित्री पायल्समा भने चार चरण हुने गर्छ । पहिलो चरणमा दिसामा रगत देखिन्छ । दोस्रो चरणमा दिसा गर्दा मलद्वारबाट बाहिर निस्किने र भित्र पस्ने हुन्छ ।
तेस्रो चरणमा पायल्स मलद्वारबाट बाहिर निस्कन्छ आफैंभित्र पस्दैन, औंलाले धकेलेर भित्र पसाउनुपर्ने हुन्छ । चौथो अवस्थालाई पोल्याप्स् स्टेज पनि भनिन्छ । जुन अवस्थामा मानिसले दिसा गरेर उठेर औंलाले धकेलर भित्र पसाउँदा पनि नपस्ने बाहिर नै निस्किरहने हुन्छ । कहिलेकाहीं पायल्स फुटेर रगत बग्ने गर्छ ।
पायल्सको उपचार कसरी हुन्छ ?
पायल्सको उपचार आयुर्वेदिक, एलोपेथिक र होमियोपेथिक विधिबाट गर्न सकिन्छ । एलोपेथिकमा शल्यक्रिया गरेर पायल्सको उपचार गर्ने गरिन्छ । आयुर्वेदिकमा बिरामीको अवस्था अनुसार उपचार गर्ने गरिन्छ ।
आयुर्वेदिकमा पहिलो र दोस्रो चरण छ भने औषधिबाट नै यसको उपचार गरिन्छ । त्यस्तै तेस्रो र चौथो चरणमा छ भने क्षारसूत्र विधिबाट उपचार गरिन्छ ।
पायल्स भएमा शल्यक्रिया गर्नैपर्छ ?
पायल्समा शल्यक्रिया बिरामीको अवस्था अनुसार हुन्छ । यदि मलद्वारबाट रगत बग्ने समस्या भएमा, बच्चा जन्माउने योजना भएमा वा विदेश जाने योजना भएको खण्डमा पायल्सको शल्यक्रिया नै गर्नु राम्रो हुन्छ । पायल्स तेस्रो र चौथो चरणमा पुगेको भए क्षारसूत्र वा शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
